माओवादीलाई ‘साइज’मा ल्याउन सबै दललाई बैठकस्थलबाटै निम्तो !


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा अहिले राजनीतिक दलका नेताहरु भेला हुने क्रम बढेको छ । नेपाली कांग्रेस बाहेकका अन्य दलका नेताहरुलाई समेट्ने जस्तो देखिएको बालकोट भेलामा एकपछि अर्का नेताह गइरहेका छन् ।

नेपाली कांग्रेससँग पदको बार्गेनिङ नमिलेपछि बालकोट हानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन टुटेको घोषणा गर्दै कांग्रेससँगको सम्बन्ध टुटेको घोषणा गरेका छन् ।

बालकोट भेलामा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, जनता समाजवादी पार्टीबीच छलफल भइसकेको छ । राप्रपा अध्यक्ष लिङदेनले ओलीसँगको भेटपछि पार्टीको आन्तरिक छलफल बोलाइसकेका छन् भने जसपाका अशोक राईले छलफलका लागि भन्दै बैठकस्थलबाट बाहिरिएका छन्् ।

उनी बाहिरिएलगत्तै बैठकस्थलबाटै फोन गरेर जनमत पार्टीका अध्यक्ष सीके राउतलाई बैठकमा बोलाइएको उक्त भेलामा अब काग्रेसबाहेक अन्य दलहरुलाई पनि बोलाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाको २७५ सदस्य संख्यामा दुई तिहाईका लागि १८४ संख्या आवश्यक पर्नेमा अहिलेसम्म बालकोटमा भेला भएका दलहरुसँगको संख्या हेर्दा १६६ सिट पुगीसकेको छ । यसबाहेकका अन्य दलहरू समेट्ने क्रम जारी रहेको छ । एकिकृत समाजवादी एमालेसँग सरकारमा नजाने बताइरहेका बेला अन्तिमसम्म कुनै अस्त्र प्रयोग भएर जानसक्छ । त्यसपछि लोसपा, जनमोर्चाका साथै नेपाल मजदुर किसान पार्टी बाँकी रहन्छन् । ती मध्ये केही दलको समर्थन एमाले एण्ड टिमले जुटाउनसक्छ ।

एमाले–माओवादी गठबन्धन भएमा माओवादीले ठूलो मूल्य चुकाएर कांग्रेसलाई देखाउनकै लागि भने सत्तामा जान तयार हुने देखिएको छ । हुनत, केही एमालेका नेताहरुले माओवादी अध्यक्ष प्रचण्डले यस अगाडि देखाएको व्यवहारबाट पाठ सिक्नु पर्ने जनाएका छन् ।

अध्यक्ष ओली प्रचण्डको छविबारे पूर्ण जानकार भएको हुनाले प्रचण्डलाई जतिसक्दो खुम्च्याउनका लागि धेरैभन्दा धेरै दलहरुलाई समेट्ने प्रयास गरेको हुनसक्ने राजनीतिकवृत्तमा चर्चा सुनिएको छ । जतिसक्यो धेरै दललाई समेट्न सक्यो, माओवादीलाई त्यति कमजोर बनाउन सकिन्छ भन्ने ओलीको मानसिकता रहेको देखिएको छ । त्यसैले बहुमत चार दलमात्रै हुँदा बहुमत पुगिसकेको अवस्थामा ओलीले बैठकस्थलबाटै अन्य दलका नेताहरुलाई समेत छलफलका लागि बोलाएका छन् ।

ओलीसँगको भेटपछि राप्रपा, जसपा पार्टीको आन्तरिक छलफलमा छन् भने रास्वपा र जनमत अहिले ओली प्रचण्डसँगको संयुक्त बैठकमा बसिरहेका छन् ।

यदि ओलीलाई सरकार बनाउनका लागि मात्रै हो भने माओवादीसहित रास्वपा र जनमत मिलाए मात्र पनि १४२ सिट पुग्थ्यो, तर ओली त्यतिमै अडिएका छैनन् । उनले जसपा र राप्रपालाई पनि सरकारमा बोलाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया