देशभर ‘ड्राइ कोल्ड’,पानी पर्ने सम्भावना छैन, कहिले हाेला हिमपात!


काठमाडाैं – समयमा पानी नपर्दा ‘ड्राइ कोल्ड’ अर्थात् सुख्खा चिसो बढेको छ । अहिले देशभर चिसो बढे पनि पानी नपर्दा प्रदूषणका कारण मौसम धुम्मिने गरेको छ ।

पहाडी क्षेत्रमा घाम लागे पनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । यसले गर्दा जमिन तात्न नपाएको र चिसो बढेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

पानी नपरेसम्म मौसम यस्तै रहने र यसपालि खासै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान गरिएको मौसमविद् अर्यालले बताए । यसपालि हिमाली जिल्लामा पनि पर्याप्त हिमपात परेकाे छैन ।

यसले हिउँबाटै सिँचाइ हुने कृषि र बहुमूल्य जडिबुटीको उत्पादनमा कमी आउने देखिएको छ । पानी पार्ने गरी पश्चिमी वायुको प्रणाली प्रवेश नगर्दा अहिले चिसो हावा मात्रै लाग्ने गरेको छ । यस्तै, आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो ३ बजेदेखि भने तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने तर राति फेरि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेकाे छ।

प्रतिक्रिया