


६२ प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६२ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४५औं समूहअन्तर्गत उनीहरुलाई तालिम प्रदान गरिएको हो ।
बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।
प्रहरी नायब महानिरीक्षक चौधरीले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिमपश्चात आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिइन् । तालिमले व्यक्तिगत तथा व्यावसायिक दृष्टिकोणले समेत प्रशिक्षार्थीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत ३० भदौदेखि सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार तीनजना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ६२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

