रुथको डबल ह्याट्रिकमा वालिङको पहिलो जित


काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा वालिङले जित निकाल्ने क्रममा गोलको वर्षा गर्‍यो। यो वालिङको प्रतियोगितामा पहिलो जित हो। वालिङका लागि मेथो इलुडी रुथले डबल ह्याट्रिक गोल गरिन्। त्यस्तै, सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टुटा वर्नेला इभानिक नोलले समान १–१ गोल गरे।

रुथले पहिलो गोल गरेको १२ मिनेटभित्र नै ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको सातौं, नवौं र १९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै, खेलको ३३ औं मिनेटमा मनमायाले गोल गर्दै वालिङलाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाएकी थिइन्।

खेलको ४९औं मिनेटमा इभानिक नोलले गोल गर्दै वालिङलाई ५–० को अग्रता दिलाइन्। खेलको ६३ र ७१ औं मिनेटमा रुथले व्यक्तिगत पाँचौं गोल गर्दा वालिङले ७–० गोलको अग्रता बनायो।

त्यसपछि सम्झनाले ८० र ८२ औं मिनेटमा दुई गोल गर्दै वालिङलाई ९–० को अग्रता दिलाइन्। खेलको अतिरिक्त समयमा रुथले छैटौं गोल गर्दै डबल ह्याट्रिक पूरा गर्दै वालिङलाई १०-० गोलको जित दिलाइन्।

पहिलो खेलमा वालिङले मोरङको विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा आर्मीसँग ७-० को हार व्यहोरेको वालिङ नगरपालिकाले तेस्रो खेलमा भने नेपाल पुलिस क्लबलाई १–१ को बराबरीमा रोकेको थियो।

प्रतिक्रिया