मदिरा पिएर सुतेका डिष्टिलरी सञ्चालकको हत्या


जनकपुर – धनुषामा एक जना डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।

क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित कम्पनीको प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र रक्ताम्य अवस्थामा उनको शव फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्याधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका‘–७ चुआरेका ५१ वर्षीय रेग्मीले धनुषामा डिष्टिलरी (मदिरा) उद्योग सञ्चालन गर्दै आएका थिए । रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको उनका आफन्त बिनोद पाण्डेले जानकारी दिए ।

उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा समेत सेवन गरेको पाण्डेले बताए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको छ,’ पाण्डेले भने, ‘तर बिहान मृत फेला परे ।’

घर परिवारलाई थाहै नदिई प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि अस्पताल पठाएको उनको भनाइ छ । ‘हामीले थाहा पाएर यहाँ आउदा शव प्रादेशिक अस्पताल जनकपुरधाम पोष्टमार्टमका लागि पुर्‍याइसकिएको थियो ।’ उनले भने । पाण्डेका अनु्सार प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ ।

प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताएका छन् । ‘घट्ना शंकास्पद देखिन्छ,’ उनले भने, ‘शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अगाडि बढाइएको छ ।’

मृतकका आफन्तले रेग्मीको शवको परीक्षण घोपा क्याम्प धरानमा गर्नुपर्नेमा जोड दिएका छन् । मृतक रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्टिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशक बनेर काम गर्दै आएका थिए ।

प्रतिक्रिया