यसकारण प्रधानमन्त्री ओली समूहमा जाँदैछन् पूर्वलडाकु कमान्डर कालीबहादुर खाम


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नाम लिएका जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खाम चर्चामा छन्।

प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलाका क्रममा चर्को भाषण गर्दै प्रचण्डमाथि कटाक्ष गरे,‘जनयुद्धमा लड्ने र मारिने बेला अर्काका छोराछोरी, तर मार्ने बेलामा आफ्ना छोरी ज्वाँई? कहाँ छन् कालीबहादुर खामहरू?

यसको प्रत्योत्तरमा प्रचण्डले प्रदर्शनी मार्गमा ओलीमाथि कटाक्ष गर्दै जवाफ फर्काए,‘त्यसको एउटा मुद्दा मिलाउनका लागि म निक्कै खटेको छु। मैले १० बर्षसम्म स्कुलिङ गरेको कालीबहादुर खाम खोई अरे? आमाको दूध चुसेर भएन बाउको घुँडो?

एकाएक चर्चामा आएका खामको भने कुनै पनि भनाई र संकेत आएको छैन। वास्तवमा खाम कुन खेमामा उभिनेछन्?

उनीनिकट स्रोतले भन्यो,‘अहिले तत्काल खुल्ने कुरा छैन। अवस्था हेरेर हुन्छ। तर बालुवाटारमा प्रधानमन्त्रीसँग भने खामको अनौपचारिक कुराकानी चलिरहेको छ।’

प्रतिनिधि सभा विघटनको मुद्दा के हुन्छ भन्ने विषयले पनि खामको खेमा तय गर्ने बताइन्छ। प्रधानमन्त्री ओलीले विघटन गरेको विषयलाई अदालतले सदर गरेको खण्डमा खाम बालुवाटार कित्तामा नै उभिने तयारीमा छन्।

उनी उभिनुपर्ने कारण के रहेछ? उच्च स्रोतले भन्यो,‘खाममाथि राजनीतिक मात्र नभएर हत्याको मुद्दा पनि छ। प्रहरीको खोजी सूचीमा रहेका कारण तत्काल बाँच्न र मुद्दा मिलाउनका लागि पनि शक्तिसँगै खामले रहनुपर्ने अवस्था छ।’

ओली र प्रचण्डको सत्ता साझेदारी हुँदा उनी पूर्वमाओवादीकै आडमा पक्राउ गरिएको थिएन। त्यसैले खुलेआम उनी राजधानीका विभिन्न ठाउँमा रमाउने गरेका थिए।

गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझमा उनी रमाउने गरेका थिए। कोटेश्वरका रेस्टुरेन्ट व्यावसायी रामहरि श्रेष्ठ हत्या, डाँका–चोरी, सरकारी कागजात किर्ते र हातहतियार खरखजानालगायतका मुद्दा खाममाथि रहेको छन्।

पूर्वलडाकु कमान्डरहरूले गत बर्षको १३ कात्तिकमा नर्भिक अस्पतालमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्दा खाम पनि पुगेका थिए। रोशनी शाही प्रकरणमा पूर्पक्षमा थुनामा रहेका बेला महराको अस्पतालको बसाई भएको थियो, केही दिन। सोही क्रममा खाम त्यहाँ पुगेका थिए।

चितवनको शक्तिखोरमा पूर्वलडाकुहरुको क्यान्टोनमेन्टका कमान्डर रहेका बेला खामले तस्करीको काम पनि व्यापक पारेको आरोप लागेको थियो।

प्रहरीले उनलाई निगरानीमा राखेको छ’, उच्च स्रहरी स्रोतले भन्यो,‘पत्ता लाग्नासाथ हामी पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौं।’

तर अहिले बालुवाटारले नै पक्राउ गरी कारबाही नगर्नू भनेपछि प्रहरीले कुनै कदम नचालेको भिन्न भिन्न समाचार शुत्रहरूले जानकारी दिए। ‘आफूलाई जोगाउनका लागि भए पनि खाम प्रधानमन्त्री ओली कित्तामा उभिनेछन्’, स्रोतले भन्यो,‘मुद्दा फिर्ता लिने र पूर्वलडाकुलाई व्यवस्थापन गर्ने विषयमा सरकारसँग खामका केही सर्त र माग छन्।’

हालै मात्र पूर्वलडाकु तथा बहिर्गमित सेनाका प्रतिनिधिसँग छलफल गरेपछि सरकारले व्यवस्थापन गर्ने आधिकारिक निर्णय गरेको थियो। जुन निर्णयमा खामको सुझाव समेत रहेको दाबी गरिएको छ।

प्रतिक्रिया