

सिन्धुपाल्चोकमा क्रिया बसेका चार दाजुभाईले गरे मतदान

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका श्रीमतीसहितले मतदान गरेका हुन् ।
कालिकादेवि मा.वि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् । मतदानको अनुभव सुनाउँदै कमल श्रेष्ठले भने ,‘दुखको घडिमा पनि स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउँन मतदान गर्न आएको हो । ’ यस्तै चुर्ण प्रसाद श्रेष्ठले आमा वितेको बेला पनि राज्य चलाउन आफ्नो मतको महत्व बुझेर आफु मदतानमा सहभागी भएको बताए ।
जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले आगमी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनिहरुको भनाई थियो ।
आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।
धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।

