नेपाल-पाकिस्तान फुटबलमा भिड्दै


काठमाडौं- पाकिस्तानविरुद्ध आज दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक खेल खेल्दै छ । पाकिस्तानको यो मैत्रीपूर्ण फुटबल भएपनि दशरथ रंगशालामा नेपाली पुरुष फुटबल टिमले खेल्न लागेको यो ५० औँ अन्तर्राष्ट्रिय खेल हो ।

सन् १९८४ मा पहिलो माल्दिभ्सविरुद्ध खेल्दै दशरथ रंगशालालाई नेपाली फुटबलको घर बनाएको नेपाली टिमले आज पाकिस्तानको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्दै छ ।

यो खेल नेपाली समयअनुसार साँझ पाँच बजेदेखि सुरु हुनेछ । यो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमको जिम्मेवारी मछिन्द्र क्लबका प्रवेश कटुवाललाई दिएको छ । कटुवालले कप्तानको जिम्मेवारी अनुभवी खेलाडी रोहित चन्दलाई सुम्पिएका छन् ।

पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेपनि एन्फाले आसन्न निर्वाचनका कारण सुरक्षा चुनौती औँल्याउँदै एक खेलमात्र खेल्ने निर्णय गरेको थियो ।

यसै वर्षको जुलाई १ मा फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानी फुटबलका लागि पनि यो खेल निकै विशेष छ ।

प्रतिक्रिया