

नेकपा नेता पन्तसहितको भिडले निषेधित क्षेत्र तोड्न खोज्दा नागरिक मार्चमा प्रहरी हस्तक्षेप

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध विरोध सभा गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड पक्षमा उभिएका नेता रघुजी पन्तसहितको भिडले बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ।
सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनका लागि नागरिक मार्च भन्दै पन्त, पत्रकार नारायण वाग्लेसहित साहित्यकारहरू जाँदै थिए। तर प्रहरीले निषेधित क्षेत्र भनेको स्थानबाट अघि बढ्न खोजेपछि पानीका फोहोरा र लाठीचार्ज गरिएको थियो।
‘हामीले निषेधित क्षेत्र नतोड्नका लागि आग्रह गरेका थियौं, उहाँहरू बढ्न थालेपछि सामान्य हस्तक्षेप गरिएको हो’, काठमाडौं प्रहरीले भन्यो।
यता, शान्तिपूर्ण धर्नाका लागि हिँडेको र लाठीचार्ज नगर्न भन्दा प्रहरीले बिना सूचना नागरिकमाथि बर्सिएको भन्दै पत्रकार नारायण वाग्ले आक्रोशित भए। उनले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा पनि गरेका छन्।

