

माथिल्लो हुम्लाको उच्च क्षेत्रमा हिमपात

सिमकोट – सदरमुकाम सिमकोटभन्दा उच्च क्षेत्रमा हिमपात भएको छ। शुक्रबार रातिबाट बादल लागे पनि बिहीबार बिहानबाट हिमपात भएको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामका अनुसार सदरमुकाम सिमकोटभन्दा माथिल्लो हुम्लामा हिमपात भएको छ।
सिमकोटमा हिउँ परे पनि बिलाउने गरेको छ। सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा भने हिउँ जमेको छ। हिमपात सिमकोट गाउँपालिकाको चुवाँ खोला, रलिङ, पञ्चमुखी, छोबाखोर क्षेत र नाम्खा गाउँपालिकाको सबैतिर हिमपात भएको छ।
विशेष गरी नाम्खाकै लिमी, न्यालु, नारा, हिल्सा, यारी, चाला लाङ्दुकमा बाक्लो हिमपात भएको छ। यी क्षेत्रमा बिहानैबाट हिमपात भइरहेका कारण सेताम्मे देखिन थालेका छन्। यसले गर्दा पशुवस्तुलाई चरन समस्या भएको छ। चिसो बढेपछि तापक्रम माइनस दुई डिग्रीमा झरेको छ।
मानिसले बाक्ला कपडा लगाएर निस्कनुपरेको छ भने हिमपातले नेटवर्कले काम नगर्दा लिमी सञ्चार सम्पर्कविहीन भएको छ। असोजमा पनि नाम्खा गाउँपालिकाका अग्ला स्थानमा दुई पटक हिमपात भइसकेको थियो भने सिमकोट गाउँपालिकाका उच्च क्षेत्रमा पहिलो पटक हिमपात भएको हो ।

