


जितबहादुरको स्वतन्त्र उम्मेदवारीले काभ्रे-१ मा फेरिँदै राजनीतिक माहाैल

बनेपा – देशैभर निर्वाचनको सरगर्मी बढीरहेको छ । विभिन्न राजनीतिक दलसँगै देशभर स्वतन्त्र उम्मेदवारको सक्रियता बढिरहँदा काभ्रेपलान्चोक क्षेत्र नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवारको चर्चा शुरू भएको छ ।
विगत लामोसमयदेखि काभ्रेलाई आफ्नो कार्यथलो बनाएर सामाजिक क्षेत्रमा खटिएका जितबहादुर मोक्तान अहिले क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारका रूपमा मतदाताको घरघर पुगिरेहका छन् । चुनावको मिति नजिकिएसँगै उनको सक्रियता पनि बढेको छ । राजनीतिक दलसँग आजित बनेका काभ्रेका स्थानीयहरुको साथ पाउने देखिएको छ ।
‘मतदाताकोमा पुग्दा धेरै ठुलो सद्भाव पाएको छु। उहाँहरूमा दलहरूप्रति आकर्षण छैन । जनता रुष्ट छन्,’ माछा चुुनाव चिन्ह लिएर घरदैलोका क्रममा रहेका मोक्तानले भने, ‘सँधै दोहोरिएका काम गर्न नसक्ने उम्मेदवारको विकल्प जनताले खोजेका छन् । युवा अनुहार र केही गर्न सक्ने भएकाले जनताले म सँग धेरै अपेक्षा राख्नुभएको छ । जितको नजिक छु ।’
उनले अब देश विकासका लागि निती निर्माण तहमा युवाहरू पुग्नुको विकल्प नभएको बताए । दशकौंसम्म राजनीतिक दलहरुले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा जनतामा वितृष्णा फैलिएको बताउँदै यसपटकको निर्वाचनमा देशैभर स्वतन्त्रहरुले नतिजामा आफ्नो पक्षमा पार्ने विश्वास लिए । उनले काभ्रे क्षेत्र नं. १ का जनता पनि अहिलेका उम्मेदवारहरुको परिक्षण भइसकेकाले आफूलाई काभ्रेली जनताले साथ दिने विश्वास लिएको बताए ।
युवा उम्मेद्वार मोक्तानले आफूले जितेमा मतदाताको भावनाअनुसार अघि बढ्ने प्रतिवद्दता पनि व्यक्त गरेका छन् । काभ्रे १ मा सत्ता गठबन्धनबाट सुर्यमान दोङ लालध्वज र नेकपा एमालेबाट रेशम लामा उम्मेद्वार छन् ।

