बच्चाको डाइपरमा लुकाएर सुन तस्करी गर्ने दुईजना विमानस्थलबाट पक्राउ


काठमाडौं – कतारबाट डाइपरमा लुकाएर सुन ल्याउने र सुन संकलन गर्न विमानस्थल गएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमानस्थल पुगेका टकबहादुर गुरुङलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

आइतबार कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लियो ।

सुवासको बयानका आधारमा सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुर गुरुङलाई विमानस्थलमै प्रहरीले पक्राउ गरेको हो । चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

सुवासले डाइपरको बटनमा लुकाएर सो सुन कार्टुनमा राखेर नेपाल ल्याएका थिए । पक्राउ गरिएकालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया