निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न आयोगको अपिल


काठमाडाैं – निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरू आज (बिहीवार) बाट प्रचार–प्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो ।

कुराकानीमा निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्‍याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरूको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग अपिल गरे ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनै पनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचार–प्रसार गर्न नपाउने पनि स्पष्ट पारे ।

‘निर्वाचनको सन्दर्भमा समष्टिगत रूपमा हामीले निर्वाचन मनोनयन पत्र दाखिल भइसकेपछि मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ, कोणसभा, गोष्ठी गर्न पाइन्छ, सेमिनार गर्न पाइन्छ । ¥याली गर्न पाइन्छ । कोणसभा र आमसभा राम्रोसँग गर्न पाइन्छ । त्यसका सीमाहरु पनि हामीले तोकेका छौँ । कुनै पनि राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका क्रममा १७ दिन निर्धारण गरेका छौँ । हाम्रो निर्वाचन मंसिर ४ गते बिहान ७ बजेबाट शुरु हुन्छ । त्यो भन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न पाइँदैन भनेर निर्वाचन कसूर तथा सजाय ऐनले व्यवस्था गरेको छ । पहिला हामीले गरी आएको अभ्यास मौन अवधि हो । तर, मौन अवधि भन्ने शब्द कानूनमा परिभाषा नभएको, उपयुक्त नभएको हुनाले हामीले यसलाई ४८ घण्टा अघि नै यसलाई शून्य समय । प्रचारप्रसार गर्न पाइँदैन । हामी मौन अवधि भनेर घोषणा नगर्ने, तर यसलाई शून्य समय भनेर हामीले चुप लागेर बस्ने’ आयुक्त भण्डारीले भने, ‘उम्मेदवारहरुलाई विजयी गराउन प्रचारप्रसारमा कोणसभा, गोष्ठी, सेमिनार गर्न पाइन्छ । तर, निर्वाचन आचारसंहिताले तोकेको सीमाभित्र रहेर मात्रै पाइन्छ । प्रचारप्रसार गर्न स्वतन्त्ररुपमा उहाँहरु छुट हुनुहुन्छ, तर आचारसंहिताको परिधिभित्र रहेर । आयोग सबै उम्मेदवारले आचारसंहीता उल्लंघन नगरी पूर्णपालना गर्नेकुरा भनिरहेको छ । पुनः उम्मेदवार र राजनीतिक दललाई आयोगको तर्फबाट के भन्न चाहन्छाँै भने सीमा ननाघिकन प्रचारप्रसार गर्नुभयो भने आयोग यस पटकको निर्वाचन स्वच्छ, विश्वासिलो, सबैतिरबाट मान्य प्रकृतिको चुनाव भयो भन्नेकुरा आयोगले विश्वास गर्छ ।’

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत हुने दाबीसमेत गरे ।

प्रतिक्रिया