निगमलाई १५ दिनमा १८ कराेड रुपैयाँ नाफा हुँदा डिजल र एलपी ग्यासमा अझै घाटा !


काठमाडाैं – भारतबाट पुन: पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

निगमका अनुसार खासगरी डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको छ । नयाँ मूल्यसूची अुनसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ ।

निगमले अझै डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।

निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

योभन्दा अगाडि पटक–पटक आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले खुद्रा बिक्री मूल्य घटाएको थिएन ।

प्रतिक्रिया