


सन्दीपमाथि थुनछेक बहस सुरु

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सुरू भएको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो।
सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन्। सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो।
सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।
पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

