कतार विश्वकपमा १३ देशले दिँदैछन् सुरक्षा


काठमाडौं – कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्।

विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल समर्थक कतार जाने अनुमान गरिएको छ। जसकारण थपिने सुरक्षा चुनौतीलाई लक्षित गर्दै कतार सेक्युरेटी फोर्ससँगै अन्य १३ देशका सुरक्षा फोर्सले सुरक्षा प्रदान गर्ने भएका हुन्।

कतारको सुरक्षा फोर्सले आफूहरूलाई सहयोग गर्ने १३ देशका सुरक्षाकर्मीसँग ५ दिने अभ्याससमेत गरिसकेको अलजजिराले उल्लेख गरेको छ। यो अभ्यासले आपतकालीन सेवा प्रदानलाई चुस्त बनाउने र सुरक्षा प्रबन्ध मजबुत हुने विश्वास कतार सुरक्षा फोर्सले उल्लेख गरेको छ।

प्रतियोगिता सुरक्षा कमिटीका अनुसार उक्त अभ्यासमा सरकारी पक्षका ३२ हजार र निजीतर्फ १७ हजार सुरक्षाकर्मी सहभागी भएका थिए।

विश्वकपमा सुरक्षाकर्मी पठाउने देशहरुमा टर्की, पाकिस्तान,फ्रान्स, मोरक्कोलगायत छन्। यता, विश्वकपमा हुनसक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले पनि सहयोग गर्ने भएको छ । त्यसका लागि विशिष्ट सैनिक बल बेलायतले पठाउने जनाएको छ।

प्रतिक्रिया