


वडा तहसम्म मतदाता शिक्षा

काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।
निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइनेछ,’ उनले भने । मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ । कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ ।
मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ । ‘उनीहरुले वडाका टोल टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्,’ उनले भने ।
स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । उनीहरुले मङ्सिर ४ गते पहिलो पटक मतदान गर्दैछन् । ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बदर भयो,’ उनले भने, ‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’
निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरिएको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर जिल्लामा आइसकेको छ ।

