कांग्रेस नेता यादवका छोराको कारले ठक्कर दिँदा ६ जना घाइते


बुटवल – नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ ।

कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।

कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए ।

प्रतिक्रिया