

अध्यक्ष ओलीले तीन दिदीबहिनीको हातबाट लगाए भाइटीका

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् । बालकोटस्थित निवासमा बहिनी कौशल्या कोइरालालगायतबाट ओलीले टीका लगाएका हुन् ।
ओलीले बिहीवार बहिनीहरूको हातबाट टीका ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भाइटीकाले दिदी–बहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताएका छन् । उनले हरेक चाडपर्वहरूको महत्व फरक–फरक हुने भएकाले चाडपर्वहरूको संरक्षण र सम्बर्द्धन गर्न जरुरी रहेको बताए ।
अध्यक्ष ओलीले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरूलाई सबै नेपालीहरूले संरक्षण र सम्बर्द्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले आजको समय किंवदन्तीको नभई, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने बताए ।
‘हाम्रा चाडपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदीबहिनीहरू आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैन थियो भने दिदीबहिनीहरूसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाइटीकाको कारणले सम्भव छ । चाडहरू विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरूको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ’, ओलीले भने, हाम्रो संस्कृति, सभ्यता इतिहास संरक्षण गर्न जरुरी छ । हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड,पर्व इतिहासहरूलाई हामीले संरक्षित गर्नु र सम्बर्द्धन गर्न जरुरी छ । कमजोर पक्ष छन् भने हटाउन जरुरी छ । आजको जमाना किंवदन्तीको होइन, डेटाको हो । तथ्य, तथ्यांक, प्रमाण, तर्कको जमाना हो, अन्धविश्वासको होइन । त्यसैले हामी तथ्यमा र विश्वासमा जान चाहन्छौँ । हामीले कुनै पनि कुरालाई तथ्यसंगत अघि बढाउन जरुरी छ ।’
अध्यक्ष ओलीले नेपाली चाडपर्वहरू महत्वपूर्ण र विशेषताहरूले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे ।

