
खानेपानी मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं – निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ ९क० बमोजिम नेपाल सरकारका मन्त्रीले चुनावी प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो । ‘तपाइँले चुनाव प्रचारप्रसारका क्रममा सरकारी (रातो तथा नीलो) नं प्लेट भएको बा२झ ५८६१ नंको सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी बा१२च ७४३१ नंको प्लेट राखेर प्रयोग गरेको हो होइन ?’, स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यदि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाइँलाई किन कारबाही गर्नु नपर्ने हो?’
मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफैँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आयोगबाट मन्त्री चौधरीले प्रचारप्रसारका क्रमम सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न उक्त निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार भएको छ ।
यसैबीच, आयोगले निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा मकवानपुर क्षेत्र नं २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं २ (ख) का नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई पनि स्पष्टीकरण सोधेको छ ।



कागजपत्र |
