वर्षाले धान बाली क्षति, मौसममा सुधार नआउँदा कृषक चिन्तित


नेपालगञ्ज – केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेको प्रारम्भिक जानकारी अनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । ‘अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ’, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने ।

उनले पानीसँगै आएको हावा र हुरीलेसमेत धान ढलेर अधिंकाश धान खेती पानीमा डुबेर क्षति भएको बताए । जिल्लामा स्थानीय किसानले उन्नत जातामा राधा ४ र विभिन्न हाइब्रिड जातका धान खेती गरेका छन् । केही ठाँउमा धान खेतीलाई बाढीले पनि प्रभावित गरेको बताइएको छ । बाँकेमा कूल खेतीयोग्य जमिन ३५ हजार हेक्टर रहेको छ ।

मौसममा सुधार नआउँदा कृषक चिन्तित
यस्तै मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित भएका छन् । गत बुधबारदेखि अविरलरुपमा भएको वर्षा शुक्रवारदेखि रोकिँदा राहत महसुस गरेका कृषकमा आइतवार रातिदेखि वर्षा हुन लागेपछि चिन्ता थपिएको छ ।

जिल्लाको अधिकांश किसानका खेतमा धान पाकेर काट्ने अवस्थामा पुगेको भए पनि मौसममा सुधार नआउँदा समयमै धान भित्र्याउन नपाइने पीरले कृषकलाई सताएको छ । एक बिघा खेतमा धान काट्ने बेला भए पनि मौसममा सुधार आउन नसकेपछि धान काट्न नसकिएको कावासोती-१३ का कृषक चेतनारायण चौधरीले बताए ।

जिल्लाको देवचुली, गैँडाकोट, कावासोतीलगायतका स्थानमा लगातार वर्षाका कारण पाकेको धानका बोट खेतमै ढलेको छ । खेतमा ढलेका धानका बाला बोटमै उम्रने चिन्ताले सताएको देवचुली-१५ का कृषक वसन्त पोख्रेल बताउँछन् । धान पाक्ने बेलामा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीले जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको बगुवन र सिसेनीमा करिब दुई सय ५० बिघा पाक्न लागेको धान डुबाएको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।

यस वर्ष जिल्लामा १८ हजारभन्दा धेरै क्षेत्रमा धानखेती गरिएको भए पनि बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आउनसक्ने प्रमुख लामिछानेले बताए ।

प्रतिक्रिया