

पुटिनद्वारा युक्रेनका केही भाग गाभेको घोषणा

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा चारवटा नयाँ युक्रेनी क्षेत्र समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका छन् । मस्कोमा आयोजित एक समारोहमा यसबारे भाषण पनि गरेका छन् । अबको केही दिनमा रुसमा यी क्षेत्रहरूलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।
त्यस्तै सन् २०१४ मा रुसले युक्रेनको क्रिमिया प्रायद्वीप पनि आफ्नो नियन्त्रणमा लिएको थियो । यो क्षेत्र अझै पनि रुसी नियन्त्रणमा छ। क्रेमलिनमा पुटिनले अधिग्रहण कागजातमा हस्ताक्षर गर्दा रुसी सैन्य अधिकारी र नेताहरूले प्रशंसा गरिरहेका थिए।
युक्रेनलाई क्रेमलिनमा समावेश गर्ने घोषणा गर्दै पुटिनले जनताले आफ्नो रोजाइ गरेका र यी क्षेत्रहरूलाई रुसको हिस्सा बनाउने जनताको चाहना रहेको बताए ।
क्रेमलिनको सेन्ट जर्ज हलमा भएको यो घोषणासँगै रुसले युक्रेनको डोनेस्क, लुहान्स्क, खेर्सन र जोपोरिज्ज्या क्षेत्रहरूलाई आधिकारिक रूपमा आफ्नो कब्जामा लिएको छ।
रुसले यी क्षेत्रहरूलाई आफ्नो कब्जामा लिएको जनमत संग्रहलाई संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय विश्वका अधिकांश देशहरूले गैरकानूनी मानेका छन्।
उनले युक्रेनलाई आफ्नो सैन्य कारबाही रोक्न र रुससँग वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि बताए । योसँगै युक्रेनले आफ्नो भूभाग मुक्त गराउन लडाइँ जारी राख्ने बताएको छ ।
राष्ट्रपति पुटिनले रुसका शीर्ष राजनीतिज्ञ र सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै रुसले आफ्नो क्षमताले यी नयाँ क्षेत्रहरूको रक्षा गर्ने बताए। उनले यी नयाँ क्षेत्रमा सुरक्षालाई थप मजबुत बनाउन रुसले कदम चाल्ने बताए।

