

खाद्यले आजबाट काठमाडौँमा खसीबोका बिक्री गर्दै

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ ।
कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले आजदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो । ती खसीबोका र च्याङ्ग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइएको छ ।
कम्पनीले दार्चुलाबाट ५०० च्याङ्ग्रा खरिद गरेर काठमाडौं ल्याएको जनाएको छ । यो वर्ष च्याङ्ग्रा खरिद नगर्ने भनिएको भएपनि ’शक्ति केन्द्र’को चर्को दबाबपछि कम्पनीले च्याङ्ग्रा खरिद गरेको हो । निजी कम्पनीहरूले च्याङ्ग्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दबाब दिएका थिए ।
यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसीबोका खरिद गरिएको छ ।

