

सिम्रिक एयरको धरान-पाथीभरा उडान सुरु

धरान – सिम्रिक एयरको हेलिकोप्टरले धरानबाट प्रदेश १ का प्रमुख धार्मिकस्थल ताप्लेजुङको पाथीभरा मन्दिरसम्म उडान सुरु गरेको छ।बडादशैको अवसर पारेर धरान होलिडेजसँगको सहकार्यमा सिम्रिकले आइतबारदेखि पाथीभरा उडान सुरु गरेको छ।
सिम्रिकले तिर्थालु र पर्यटकहरूको सुविधाका लागि हवाई यात्राको सुरुवात गरेको धरान होलिडेज प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले बताए। उनका अनुसार हवाई यात्रा गर्ने तिर्थालुहरूका लागि प्रतिव्यक्ति ३९ हजार नौ सय ९९ रुपैयाँ भाडा निर्धारण गरिएको बताए।
सिम्रिकले हवाई उडान सुरु गरेसँगै आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र उपमेयर अइन्द्रविक्रम बेघालाई धरान बजार घुमाएर उडान उद्घाटन गरिएको थियो ।
मेयर राई र उपमेयर बेघाले हेलिकोप्टरबाट धरान बजारको दृष्य अवलोकन गर्न आनन्द आएको बताए। मेयर राईले धरानबाट हवाई यात्रा गर्न विराटनगर जानुपर्ने भएकाले सिम्रिक एयरलाई धरानबाटै काठमाडौंसम्मको दैनिक व्यवसायिक उडान भर्न अनुरोध गरेका छन्।
धरान होलिडेजका प्रबन्धक अजय खनालले हेलिकोप्टरबाट पूर्वका पर्यटकीय स्थल र पहाडी हिमश्रृखलाहरूको दृष्यावलोकन समेत गराइने बताए। उनले प्राकृतिक प्रकोप र सिकिस्त बिरामीहरूलाई हवाई एम्बुलेन्सका रूपमा समेत प्रयोग गरिने जानकारी दिएका छन्।
धरान पाथीभरा उडानका लागि सिम्रिक एयरका क्याप्टेन विमल शर्मा, इन्जिनियर विष्णु बस्नेत, मार्केटिक इन्चार्ज राजेन्द्र भण्डारी र टेक्निसियन उत्तम चौधरी सहितको टोली धरान आइसकेको छ। मौसमले साथ दिए पाँचदेखि छवटा उडान भर्न सकिने क्याप्टेन शर्माले बताएका छन्।

