
‘संसद सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहन्छ’
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले प्रतिनिधि सभा विघटनको विरुद्दमा भोली (शुक्रवार) काठमाडौंमा गर्ने विरोध सभाको तयारी पुरा भएको जनाएको छ ।
बिहिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पुरा भएको जानकारी दिएका छन्।
उनले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरूको नेतृत्वमा माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने जानकारी दिएका छन् ।
त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनको भनाई छ । मुख्य जुलुस पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए ।
विरोधसभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।



कागजपत्र |
