

कांग्रेसमा समानुपातिकतर्फको क्लस्टर छुट्याएर सूची ल्याउने जिम्मा सहमहामन्त्रीलाई

काठमाडौं – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका नामहरुबाट क्लस्टर छुट्याएर सूची ल्याउने जिम्मा सहमहामन्त्रीलाई दिएको छ ।
केन्द्रीय संसदीय समितिको बिहीबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीहरूलाई आ-आफ्ना क्लस्टरमा सिफारिस भएका उम्मेदवारहरूको नाम छुट्याएर ल्याउने जिम्मेवारी दिएको हो ।
कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिनासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । जिल्ला र क्षेत्रीय समितिहरूले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् । एउटै क्षेत्रबाट २५ जनासम्मको नाम सिफारिस भएर आएको छ ।
कांग्रेसमा बुधबार बसेको बैठकले समानुपातिकतर्फ एक निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने मापदण्ड बनाइसकेको छ भने स्थानीय तहमा उम्मेदवार भएको व्यक्तिलाई उम्मेदवार नबनाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका व्यक्तिसमेत पुनः उम्मेदवार बन्न नपाउने र उच्च नैतिकता, योग्यता, क्षमता भएका र पार्टीको पक्षमा लोकप्रिय मत थप्ने नेताहरूलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले ती नै मापदण्डका आधारमा उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन गरेका छन् ।

