अध्यक्ष नेपालद्वारा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गरेका छन्।

देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये आइतबार शंखरापुर नगरपालिकाको साँखुमा आयोजित कार्यक्रममा उनले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको शिलान्यास गरेका हुन्। २० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माणकार्य आजबाट सुरु भएको हो।

काठमाडौंको साँखुदेखि शंखरापुर नगरपालिका वडा नम्बर २ को पटापसम्म दुई अर्ब लागतमा डीपीआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिब ४ किलोमिटर सडक कालोपत्र हुनेछ। सो सडकले शंखरापुर नगरपालिकाका वडा नम्बर सात, आठ, चार र दुई छुनेछन्।

कमलजित निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछन्। सो कार्यक्रममा संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेल, बागमती प्रदेशसभा सदस्य मणिराम फुँयाल, शंखरापुर नगर प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठको उपस्थिति थियो।

यसैगरी, सो अवसरमा शंखरापुर नगरका निवर्तमान प्रमुख सुवर्ण श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा अन्य महानुभावको उपस्थिति थियो। कार्यक्रम शंखरापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पोते थिङको सभापतित्वमा भएको थियो।

प्रतिक्रिया