


बेवारिसे शव व्यवस्थापन गर्न तीन वर्षमा साढे ४ करोड खर्च

काठमाडौं – बेवारिसे शव व्यवस्थापन गर्न प्रहरीले तीन वर्षमा साढे ४ करोड रुपैयाँ खर्च गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म विनियोजित कुल ८ करोड ३४ लाख ५३ हजार बजेटमध्ये ४ करोड ४० लाख २७ हजार खर्च भएको हाे ।
बेवारिसे शव पहिचानका लागि डिएनए परीक्षण, पोस्टमार्टम लगायत विभिन्न परीक्षण र डेड बडी ब्याग खरिद गर्न उक्त रकम खर्च गरिएको प्रहरीले जानकारी दिएको छ। बेवारिसे शव व्यवस्थापनका लागि आर्थिक वर्ष ०७७/७८ बाट मात्रै सरकारले बजेट छुट्याउन थालेको हो।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार, शव व्यवस्थापनका लागि आर्थिक वर्ष ०७७/०७८ मा २ करोड १२ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष २ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा विनियोजन भएको २ करोड ४९ लाख रुपैयाँ मध्ये २ करोड २७ लाख ६३ हजार खर्च भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।
बेवारिसे शव व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ३ करोड ४८ लाख ८८ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षकाे बजेट कार्यान्वयन नभएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले जानकारी दिए।
डिआइजी राईका अनुसार ०७२ देखि ०८० सम्म १ हजार १८ बेवारिसे शवमध्ये ९ सय ४७ शवको दाहसंस्कार गरिएको छ । १ सय ७१ शवको अन्तिम संस्कार हुन बाँकी छ ।
‘पहिले प्रहरी आफैंले बजेट छुट्याएर वा विभिन्न वेवारिसे शव हेर्नेलाई शवको अन्तिम संस्कार गर्न दिइन्थ्यो,’ प्रवक्ता राइले भने, ‘बजेट विनियोजन हुन थालेपछि बेवारिसे शवलाई ब्यागमा हालेर राख्छौं र समय मिलाएर एकैदिन सामुहिक रुपमा जलाउँछौँ।’
ठाउँ र प्रविधि अभावका कारण लामो समयसम्म शलाई अस्पतालमा राखिरहने अवस्था नभएको डीआइजी राई बताउँछन। ‘तीन–चार महिना भएपछि अस्पतालमा राखेको शव कुहिन थाल्छन्,’ उनले भने, ‘हामीसँग बेवारिसे शव राख्नका लागि उचित व्यवस्थापन छैन।’

