


महानगरले गर्यो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ।
मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आज (आइतबार) महानगरपालिकाले सिल गरेको हो।
‘हामीले यसअघि पटक-पटक जानकारी गराएका थियौं। छलफलमा समेत बोलायौ। तर उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज हटाउन खोजेका थियौं अत्यधिक संवेदनशील भएकाले अहिले सिल गरेका हौ’, महानगर प्रमुख चिरीबाबु महर्जनले भने।
विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित रहेको भन्दै हटाउन अग्रह गर्दा नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनले जानकारी दिए।
पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ।

