सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार
देउखुरी – म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।
सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए । ‘शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ’, उनले भने । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।