कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सकले आन्दोलन स्थगित गरे
जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् ।
जिल्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्यभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरु नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकमीले आकस्मिक बाहेक सबै ठप्प पारेका थिए । प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।
एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेका थिए । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो ।