भारतमाथि पाकिस्तानको शानदार जित


काठमाडौं- पाकिस्तानी क्रिकेट टिमले भारतमाथि रोमाञ्चक जित निकालेको छ। एसिया कप क्रिकेटअन्तर्गत गएराति भएको सुपर चारको भिडन्तमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकालेको हो।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम बलअघि पाँच विकेटले विजयी बन्यो। समूह चरणमा भारतसँग पराजित भएको उसले सुपर चारमा हारको बदला लिन सफल रह्यो।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले। पाकिस्तानका लागि मोहम्मद नवाजले ४२, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाए। आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डेय, अश्रदिप सिह, रवि बिस्नोई र युजभेन्द्र चहलले एक एक विकेट लिए। त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए।

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाउँदा दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए। पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । निसम शाह, मोहम्मद हसनेन, हरिस राउफ र मोहम्मद नवाजले १/१ विकेट लिए ।

 

प्रतिक्रिया