भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी


काठमाडौं – नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघको महासचिव समेत रहेका चन्दले आइतबार संघको यही भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

एक दशकदेखि संघको महासचिव रहेका चन्दले भलिबल खेलको विकासका लागि १४ वटा एजेन्डासमेत अगाडि सारेका छन् ।

चन्दको एजेन्डामा स्थानीय तह, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म रहेका संघलाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार, ग्रास रुट कार्यक्रम, विद्यालय भलिबल कमिसनलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आयोजना, वार्षिक क्यालेन्डर सहितको कार्यक्रम जस्ता विषय समावेश छ ।

घोषणा सभामा चन्दले आफुले इमान्दारी पूर्वक भलिबल खेलको विकासमा लागिपर्ने प्रतिबद्धता समेत जनाए । उनले आफुले अगाडि सारेको एजेन्डा पूरा गरेर छाड्ने पनि बताए। पूर्व खेलाडी समेत रहेका चन्द सन् १९९५ देखि २००६ सम्म राष्ट्रिय भलिबल टोलीमा थिए ।

उनी २०६८ सालमा महासचिवमा निर्वाचित भएका थिए । चन्दको उम्मेदवारी घोषणा कार्यक्रममा संघका ३३ सदस्यीय कार्यसमिति सदस्यमध्ये १७ जना सदस्यहरु उपस्थित थिए । चन्दको समूहबाट आइतबार नै महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको अध्यक्ष पदमा यसअघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गरिसकेका छन् । मास्केको समूहबाट सचिव मनवीर छन्त्यालले यसअघिनै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका थिए । यसैगरी यसअघि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी इन्दिरा निरौलाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

प्रतिक्रिया