थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री’ पुस्तक यही महिना बजारमा


काठमाडौं – पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादु थापाको आत्मकथा ‘मेरा नौ दशक: पाँच व्यवस्था, पाँच राजा, पाँच पटक प्रधानमन्त्री’ पुस्तक यही भदौ महिना भित्रै बजारमा आउने भएको छ ।

सो पुस्तकको आवरणको बिहीबार राजधानीमा आयोजित एक सअवसरका बीच लोकार्पण गर्दै स्र्गीय थापाका सुपुत्र तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा र पत्रकार हरिबहादुर थापाले यस्तो जानकारी दिएका हुन् ।

बुकहिलले प्रकाशन गरेको सो पुस्तकमा राणा शासनदेखि गणतन्त्रसम्मको शासन व्यवस्थामा आफूले राज्य सत्ता सञ्चालनका क्रममा भोगेका तीता मिठा सबै अनुभवलाई समेटिएको नेता सुनिलबहादुर थापाले बताए ।

उनले भने ‘बुबाको आत्मकतथा पुस्तक लेखन तयारी विगत १४ वर्षअघि बाट शुरु भए पनि अहिले प्रकाशनको सबै तयारी पुरा भएको जानकारी दिन पाउँदा पुस्तक अनेक कारणले निस्कँदैन कि भन्ने आशंका गर्नेहरुलाई ढुक्क पारेको छ ।’

पुस्तक प्रकाशनका लागि विगतमा धेरै सम्पादक, पत्रकार, लेखक, राजनीतिकर्मी तथा परिवारका सदस्यहरूले सल्लाह दिए पनि यसको सम्पादनमा लामो समय लागेको भन्दै नेता थापाले उहाँमा जीवनभर गरेको कार्यलाई लिएर गरिएका आशंका र आरोपको तथ्यसहित पुस्तकमा जवाफ पनि रहेको बताए ।

पुस्तकका सम्पादक पत्रकार हरिबहादुर थापाले नेपाली राजनीतिको ऐतिहासिक र महत्वपूर्ण घटना मानिएको २०१७ साल पुस १ गतेको राजा महेन्द्रको पञ्चायती व्यवस्थाको घोषणाको भाषणको ड्राफ्ट गरेका कार्यदेखि राजाले जेल हालेको र जनमत संग्रह गराएका अनुभव पुस्तकमा रहेको बताए ।

उनले स्वर्गीय थापाको आत्मकथामा इमानदारीतापूर्वक आफूमाथि लागेका आरोपलाई स्वीकार्दै त्यका कारण र सत्य विषयलाई उजागर गरिएको र नेपालको राजनीतिक इतिहासको लामो कालखण्डलाई पुस्तकले समेटेको बताए ।

पुस्तकका ट्रान्सक्राइबर गणेश पौडेलले स्वर्गीय थापासँग २०६५ साल पुस आठ गतेदेखि अन्तर्वार्ता शुरु गरेर ९९ पटकको भेटमा तीन सय १० घण्टा कुराकानी भएको बताए ।

पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गरेको स्मरण गर्दै पोडेलले राणा शासनको अन्तिम कालखण्डदेखि संविधानसभाको दोश्रो कार्यकालसम्मको राजनीतिक इतिहासलाई सूर्यबहादुर थापाले भोगेको अनुभवको आधार पुस्तकमा उतार्ने काम गरेको बताए ।

सूर्यबहादुर थापाकी बुहारी तथा चित्रकार सङ्गीता थापाले सूर्यबहादुर थापा र मदन पुस्तकालयका संस्थापक कमलमणि दीक्षितको योजना बमोजिम नै पुस्तक लेखनको थालनी गर्ने जमर्को भएको बताइन । उनले थापाको स्वर्गारोहण भएको १४ वर्षपछि भए पनि पुस्तक आउन सकेकोमा खुसी व्यक्त गरिन ।

पाँच सय पृष्ठ लामो पुस्तकमा जीवन भोगाइका विविध आयामहरूलाई समेट्दै ८ खण्डमा प्रस्तुत गरिएको छ । पुस्तक भदौको अन्तिम साता कुनै दिन सार्वजनिक गरिने सुनिलबहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया