ला लिगा : पाहुना टोली रियलको सहज जित, क्याडिज र मलोर्का पराजित


काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा फराकिलो जित निकालेको छ। एवान्का बालाइडोस भिगोमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले सेल्टा डि भिगोमाथि ४–१ को जित हात पारेको हो।

रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले १/१ गोल गरे। घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए।

खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो। रेनाटो तापियाले पेनाल्टी बक्सभित्र ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए।

२३औं मिनेटम इयागोले पेनाल्टीमार्फत् नै गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। इडर मिलिसाओले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले सेल्टालाई पेनाल्टी प्रदान गरे।

४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए। ५६औं मिनेटमा भिनिसियसले गोल गरेपछि रियल सहज जिततर्फ अग्रसर बन्यो। ६६औं मिनेटमा फेडेले गोल गरेपछि रियल खेलमा ४-१ ले अघि बढ्यो। ८७औं मिनेटमा रियलले अर्काे पेनाल्टी प्राप्त गरेपनि परिवर्तित खेलाडी इडेन हाजार्डले गोल गर्न सकेनन्

जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ। पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ। शनिबार नै सम्पन्न खेलमा ओसासुनाले क्याडिजलाई २-० र रियल बेटिसले मलोर्कालाई २-१ ले पराजित गरेको छ।

प्रतिक्रिया