प्रदेश १ मा दाहाल-नेपाल समुहको संसदीय दलको बैठक बस्दै


मोरङ – प्रदेश १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहको संसदीय दलको बैठक आज बस्दैछ । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको दाहाल-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजेका लागि होटल एसियाटिकमा बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए । उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि दाहाल-नेपाल समूहले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ ।

प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।

अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्छ । तर, राइले काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् । अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको दाहाल-नेपाल समूहले पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ ।

प्रतिक्रिया