रुसी आक्रमणमा चार युक्रेनीको मृत्यु, २० जना घाइते


काठमाडौं – उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु २० जना घाइते भएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच युक्रेनको पश्चिमी शहर लभिभमा भेटवार्ता हुनु केही घण्टा अगाडी आक्रमण भएको थियो ।

खार्किभमै एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले फेब्रुअरीको अन्त्यदेखि लगातार गोलाबारी गर्दै आएको छ ।

रुसी सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले बताएका छन् ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् ।

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया