


निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

काठमाडौं – महोत्तरीको जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन् ।
न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् ।
आफूलाई नशालु पदार्थ सेवन गराएर धनुषामा शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै निहारिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता भएकोमा न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो ।
धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौंको विभिन्न ठाउँमा न्यायको याचना सहित राजपुत प्रदर्शनमा संलग्न छिन् । उनले केही दिनअघि राष्ट्रपति कार्यालय शितल निवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन् । घटना लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री गोविन्द बन्दी र महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई घटनावारे सोधेकी थिइन् ।
न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर केसीले केही उजुरी परेपछि धनुषाका जिल्ला न्याायाधीश डा.भट्टराई काठमाडौंमा काजमा तानिएको पुष्टि गरे । परिषद स्रोतका अनुसार, न्यायाधीश भट्टराईमाथि छानबिनका लागि परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।

