गंगालालका विशेषज्ञ चिकित्सकको अवकाशको उमेर हद बढाउने निर्णय एमालेद्वारा विरोध


काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णयको नेकपा एमालेले विरोध गरेको छ ।

आइतबार संसदको शून्य समयमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त निर्णयको विरोध गरेका हुन् ।

संचालक समितिले ६० बाट बढाएर उमेर हद ६३ वर्ष बनाएको छ । यसबारे भट्टराईले सरकारले चाह्यो भने ८० वर्ष पनि पुर्‍याइदिन सक्ने भन्दै सचेत गराए । ‘एउटा प्रधानमन्त्रीको कुर्सी छ, चार जना डिफ्याक्टो प्रधानमन्त्री भएको यति बहादुर सरकार, उसले चाह्यो भने ६३ वर्ष गर्दिनसक्छ, चाह्यो भने ८० वर्ष गर्दिनसक्छ ,’ उनले भने ।

अस्पतालका एक चिकित्सकको सेवा अवधि सकिनै लागेको बेला उमेद हद बढाइएको उनको आरोप छ ।

संचालक समितिका एक सदस्यका अनुसार अस्पतालका कार्डियोलोजिस्ट डा. रवि मल्ल २३ साउन गतेबाट अवकास पाउने भएपछि प्रधानमन्त्रीमार्फत आरजु राणाले दबाब दिएर उमेर हदको समय बढाइएको हो ।

अस्पताल कर्मचारी संघले पनि संचालक समितिको उक्त निर्णय केही चिकित्सकले शक्तिको भरमा गरेको भन्दै निर्णय नसच्याए आइतबार देखि हडताल गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया