


यी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौं- देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भइरहेको छ। गएराति पनि केही स्थानमा भारी वर्षा मापन गरिएको छ।
कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ।
बर्दियाको बबई नदी जलाधारको कालीमाटी, चेपाङ, र आसपासमा पनि गएराति भारी वर्षा मापन गरिएको छ। बबई चेपाङ जलमापन केन्द्रमा जलसतह दुई मिटर बढेको छ । बबईको तटीय क्षेत्र र डुवान भइरहने स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिमका केही स्थानमा गएराति भारी वर्षा मापन भएको छ। थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावा रहेको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

