
पोखरामा प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु
कास्की – प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । सम्मेलनमा देशका ६ ठुला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ । सम्मेलनमा पोखरा लगायत काठमाडाैं, ललितपुर, भरतपुर, विरगंज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ ।
संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशील तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरि सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रीय योजनाकार डा.जगदीश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा मुख्य प्रस्तुती राखेका छन् । यस्तै महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरू सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नेछन् । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरु बारे आफ्नो अनुभव राख्नेछन् । सम्मेलनको पहिलो दिन नै महानगरपालिकाका साझा सवालहरुबारे संश्लेषणको कार्यक्रम पनि छ ।
सम्मेलनको दोस्रो दिन शनिबार भने पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यद्वारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्वारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।



कागजपत्र |
