


आजको मौसम : प्रदेश–१ देखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना

काठमाडौं- देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
‘नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ। यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्छ । त्यसैले सामान्य सतर्कता अपनाउन सबैमा आग्रह छ,’ विभागले भनेको छ।
आज बिहान वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैबीच, चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ। चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ।
चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ। र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।

