अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने गृहमन्त्रीकाे प्रतिबद्धता


काठमाडाैं – सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने गृहमन्त्री बालकृष्ण खाँणले प्रतिबद्धता जनाएका छन् । शनिवार काठमाडाैंमा भएको विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भए पनि बजेटअनुसार निर्धारण गरिएको बताए । गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

उनले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए । गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । उनले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताए । गृहमनन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने पनि जानकारी दिए ।

उनले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिए। कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले संसारका कुनै पनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरे पनि नेपालमा त्यसको विपरीत अवस्था रहेको बताए । अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपाङ्गहरु आवद्ध रहेको संस्था निरिह अवस्थामा पुग्नु दुःखद् भएको बताए।

प्रतिक्रिया