

एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुख सापकोटाको रुलिङ

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गरेका छन् ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरूले बारम्बार उक्त विषय संसद्मा उठाएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी हुनुपर्ने भन्दै रुलिङ गरेका हुन् ।
‘एसपीपीको विषयमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछ,’ सभामुख सापकोटाले भनेका थिए ।
एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदहरूले आवाज उठाएका थिए । उनीहरूले सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका थिए ।
बिहीबारको बैठकमा मात्रै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा ९एमाले० सांसद भीम रावलले एसपीपीबारे सभामुखको रुलिङ माग गरेका थिए ।

