धौवादी फलाम खानीको उत्खननकार्य तत्काल अघि सरकारसमक्ष माग


काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको छ । सरकारले गराएको अध्ययनबाट सो फलाम खानीमा १५ करोड मेट्रिक टन बराबरको फलाम रहेको छ । उक्त मात्राको फलाम नेपालले मात्रै प्रयोग गरेको खण्डमा ७० वर्षका लागि पुग्छ ।

फलामको गुणस्तरसमेत राम्रो रहेको चीनमा गरिएको अध्ययनबाट स्पष्ट भएको छ । दैनिक एक हजार ५०० मेट्रिक टन बराबरको फलाम निकाल्न सकिन्छ । खानी सञ्चालनका लागि १२५ मेगावाट बराबरको बिजुली आवश्यक पर्छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद तिलबहादुर महतले सो खानी क्षेत्रमा पुग्ने पहुँचमार्ग निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै गुनासो गरे । उनले व्यापार घाटा कम गर्नका लागि पनि फलाम खानी तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

नेपालमा वार्षिक रु एक खर्ब ४० देखि रु एक खर्ब ५० अर्ब बराबरको फलाम आयात भइरहेको तथ्य पेस गर्दै महतले तत्काल खानी सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया