पीडितको अपेक्षा अनुरुप संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन


काठमाडौं – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षा अनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाइ निर्देशन दिएको छ ।

उक्त समितिको आजको बैठकले महिलाको समग्र हित प्रवद्र्धन गर्ने उद्देश्यमा केन्द्रित भई प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिए ।आयोगले महिला हक हित प्रवद्र्धन गर्न प्रयत्न गरिरहेका विभिन्न निकायहरुसँग सम्पर्क, समन्वय बढाई एकिकृत पहल गर्न समेत नसकेको भन्दै आगामी दिनमा प्रभावकारी सहकार्य गर्न पनि समितिले आग्रह गरेको छ ।

साथै, महिला आयोग आफैभित्र पनि समन्वय र सहकार्य गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पदान हुन नसकेको र सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्युनतम सहयोग समेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।

बैठकमा सांसद नारायणप्रसाद खतिवडा, बिमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले आवश्यकताको हिसावले राष्ट्रिय महिला आयोय अन्य आयोग भन्दा बढी महत्वपुर्ण रहेको हुनाले योजनावद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विस २०७८ साउन एक गते देखि २०७९ साल असार मसान्त सम्म महिला माथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गराएका थिए । जसमा सबैभन्दा बढी बागमती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार २७६ वटा घटना रहेका छन् ।

प्रतिक्रिया