प्रतियोगिताका क्रममा घाइते भएका भारतीय किकबक्सर निखिलको मृत्यु


काठमाडौं – बैंगलोरमा जारी प्रान्तीय किक बक्सिङ प्रतियोगितामा एक खेलाडीको मृत्यु भएको छ । ​केवन एसोसियसन अफ कर्नाटकले आयोजना गरेको केवन किक बक्सिङ च्याम्पियनसिपमा अन्तरगत जुलाई ९-१० मा सम्पन्न खेलमा किकबक्सर निखिल सुरेश घाइते भएका थिए। उनलाई पछि अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको बिहीबार मृत्यु भयो ।

२३ वर्षीय निखिलका पिता र प्रशिक्षकले प्रतियोगिता आयोजकले लापरबाहीका कारण आफ्नो उनको मृत्यु भएको लगाएका छन् । मार्सल आर्ट प्रतियोगिताका लागि अति आवश्यक हुने एम्बुलेन्स र विशेषज्ञ चिकित्सा सुविधा त्यहाँ नभएको र समयमै उपचार पाएको भए निखिलको ज्यान बच्न सक्ने तिनले दाबी गरे ।

घटनापछि प्रतियोगिताका आयोजक फरार छन् । राष्ट्रिय किक बक्सिङ संघले प्रतियोगिता आयोजकसँग कुनै सम्बन्ध नरहेको जनाएको छ । निखिलले धेरै राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । निखिल भारतीय किकबक्सिङ खेलकुदमा चलेको नाम थियो ।

केही अघि मात्र उनले छैटौँ बैंगलोर ओपन एमएमए च्याम्पियनसिपमा भाग लिएका थिए । त्यस्तै उनले नीमचमा आयोजित ५ औं एमएमए इन्डिया नेशनलमा पनि भाग लिएका थिए । निखिलका प्रशिक्षकले आफ्नो शिष्यको मृत्युमा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेका छन् ।

निखिलका प्रशिक्षक नागराजले समाजिक संजालमा गरेको पोष्टमा लेखिएको छ– ‘म गुर्जिएको स्थितिबाट कुनै कोचले पनि गुज्रिन नपरोस् । आफ्नो छोराजस्तो ठानेको चेला भेन्टिलेटरमा जीवनको लागि लडिरहेको दृश्य भन्दा खराब के हुन्छ होला ।

के १ किक बक्सिङ च्याम्पियनसिपमा घाइते भएपछि एम्बुलेन्स, प्रशिक्षित मेडिकल स्टाफ भइदिएको उसले यो स्थिति भोग्नु पर्ने थिएन । म अब निखिल र उजस्तै खेलाडीहरूको लागि लड्नेछु, ती आयोजकहरुविरुद्ध जो खेलाडीको स्वास्थ्यलाई कत्ति पनि महत्त्व दिँदैनन् !’

निखिलका पिता आफै पनि कराँते मास्टर हुन् । उनकै प्रभावबाट उनका छोरा यो खेलतर्फ आकर्षित भएका थिए । अहिले उनी प्रहरीमा आफ्नो छोराको मृत्युका लागि आयोजकलाई दोष दिँदै उजुरी दिएका छन् ।

प्रतिक्रिया