सिङ्गापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे


काठमाडौं – ठूलो जनविरोधपछि देश छाडेर भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सबाट सिंगापुर पुगेका छन् । सिंगापुरको सरकारले उनलाई ‘निजी भ्रमणको लागि प्रवेश अनुमति’ दिएको बताएको छ ।

राजापाक्ष सिंगापुरमै बस्ने हुन् वा त्यहाँबाट अन्यत्र जानेछन् हालसम्म स्पष्ट छैन । गोटाबायाले सार्वजनिक आक्रोशको बीचमा बुधबारसम्म राजीनामा दिने वाचा गरेका थिए तर राजीनामा गर्ने भनेर तोकिएको दिनको अघिल्लो दिन उनी माल्दिभ्स गए । उनी मंगलबार राति सैन्य विमानमा माल्दिभ्स भागेका थिए ।

सिंगापुरका परराष्ट्र मन्त्रालयले गोटाबाया आफ्नो देशमा अवतरण गरेको पुष्टि गरेको छ । तर श्रीलङ्काली राष्ट्रपतिले शरण नमागेकाले त्यसबारेमा केही निर्णय नभएको बतायो । ‘उनले शरण मागेका छैनन् । त्यसैले शरण दिने कुरै आउँदैन । फेरी सिंगापुरले सामान्यतया शरणको लागि अनुरोध स्वीकार गर्दैन ,’ सिंगापुरको परराष्ट्र मन्त्रालयले भन्यो ।

गोटाबायले सुरक्षित देशमा पुगेपछि मात्र राष्ट्रपति पदबाट राजीनामा दिनसक्ने आशङ्का गरिएको छ । श्रीलङ्काको कानुनले राष्ट्रपतिलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भएकाले राजीनामा दिए लगतै बन्ने नयाँ सरकारको कारबाहीमा पर्ने डरमा छन्, गोटाबाया । यता श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बिहीबार दोस्रो दिनको लागि कर्फ्यु लगाएका थिए। ।

राजापाक्षले माल्दिभ्सबाट प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाएका थिए । यो निर्णयले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै थप विरोधहरू निम्त्याएको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय लगायत राजधानी कोलम्बो वरपरका प्रमुख स्थल चिन्हहरूमा बुधबारको विरोध प्रदर्शन हुँदा एक जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया