
‘गोकुल बास्कोटाको ७० करोड प्रकरणका बिचौलियालाई कांग्रेस नेतृत्वको सरकारले पुरस्कृत गर्दैछ’
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस सत्तामा पुगेपछि केपी ओली प्रवृत्तिमा अघि बढेको बताएका छन्। बुधबारको केन्द्रीय समिति बैठकमा शिवाकोटीले प्रतिपक्षमा हुँदा र सरकारमा हुँदा कांग्रेसको फरक शैली देखिएको बताए।
उनले कांग्रेसको दोहोरो प्रवृत्तिलाई जनताले नियालिरहेको पनि बताए। ‘हामी वचनका पक्का छौँ कि छैनौँ भन्ने पनि जनताले हेरिरहेका मात्र छैनन् प्रतिक्रिया जनाउन थालेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हाम्रो मौनता, अधिनायक बन्ने सोचका साथ तत्कालीन केपी ओलीले प्रधानमन्त्री मातहत विभाग र निकायहरू लैजाँदा हामीले विरोध गरेको बिर्सेर हामी अहिले त्यसैमा रमाएर अरूले विरोध गर्ने ठाउँमा आइपुग्नु पक्कै पनि सुखद होइन। जनता सबै हेरिरहेका छन् मौका पर्दा यसको ब्याजसमेत असुल्न सक्छन भन्ने कुरा हामीले ख्याल गर्नुपर्छ,’ उनले बैठकमा भनेका थिए।
शिवाकोटीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मोलमोलाइ गर्दै गरेको अडियो सार्वजनिक भएपछि राजीनामा गर्न बाध्य भएको भन्दै त्यसको पृष्ठभूमिमा रहेका बिचौलिया र एजेन्टहरूलाई कांग्रेस नेतृत्वको सरकारले पुरस्कृत गरिरहेको धारणाा राखे।
‘उनीहरू नै सरकारका निर्णय प्रक्रियाहरूलाई समेत प्रभावित पार्ने हैसियतमा प्रकट हुनु हाम्रो पार्टी र पार्टी प्रमुखको नेतृत्वमा रहेको सरकारलाई सुहाउने विषय होइन। विगतमा हामीले उठाइरहेका यी र यस्ता विषयका सन्दर्भमा चुनावी मैदानमा नागरिकले उल्टै हामीलाई प्रश्न गर्दा जवाफ के दिने भन्नेमा पार्टी गम्भीर हुन जरुरी छ,’ उनले भने ।
चुनावी गठबन्धनको विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको समीक्षा गर्दै कतिपय आरोप कांग्रेसप्रति लगाएकाे भन्दै उनले गठबन्धनको आगामी यात्रा तय गर्दै गर्दा यस्ता दृष्टान्तलाई ध्यान दिन जरुरी रहेको बताए।



कागजपत्र |
