निर्वाचनमा खर्च धेरै भयो, आयोगले नियन्त्रण गर्नु पर्छः पौडेल


काठमाडौं – कांग्रेस नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले लोकतन्त्रमाथि नै चुनौती थपिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरकृया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेद्वारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताए ।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ,त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको गुनासो गरे ।

‘निर्वाचन कानुन र आचार संहिता धेरै छन् कतिपय अवस्थामा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन’, नेता पौडेलले भने, ‘अब संघको निर्वाचनमा उम्मेद्वारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ । अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् ।’

उनले निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा रहेकाले यसलाई हटाउनु पर्ने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोख्रेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यस्पद भएको टिपप्णी गरे ।

‘अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गएको छ । उमेद्वारको खर्च तिब्र गतिमा बढेको छ । आयोगको एउटा मापदण्ड छ तर अर्को तिर उम्मेद्वारको खर्च त्यो भन्दा फरक छ । आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्छ नत्र खर्च सीमा हटाउनु पर्छ । यो हाँस्यस्पद मात्र भयो’ पोखरेलले भने ।

पलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपाल कृष्ण घिमिरे लगायतले आर्थिक शुसासन र निर्वाचन विषयमा धारणा रोखका थिए ।

 

प्रतिक्रिया